ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने, साँझ सपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन्। शीतल निवास स्रोतका अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै सपथ गराइने छ।
शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए। ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन्।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए।
नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए। प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल हुँदै खुमलटार सरिसकेका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले शपथ लिएकै दिन अधिकांश मन्त्रीले पनि शपथ लिने छन्। उनले सकेसम्म २ चरणमा मात्रै मन्त्रिपरिषद् विस्तारको योजना रहेको बताए।
नेताहरूका अनुसार अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र गृहमन्त्रीमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शपथ लिने सम्भावना बलियो रहेको छ। उनले धेरै पटक छलफल गरेर मन्त्रिपरिषद् विस्तारको विषयमा आन्तरिक तयारी भएको बताए। तर अन्य दलहरुलाई पनि समेट्नुपर्ने भएकाले केही अझै छलफल गर्न बाँकी रहेको उनको भनाइ छ।