यूरो २०२४ : फ्रान्सलाई एम्बाप्पेको भर, स्पेनलाई खेलाडी निलम्बनको डर

कोल्हवी न्यूज
२०८१ असार २६, मंगलवार १५:५५

स्पेन र फ्रान्स यूरोपियन फुटबलका २ ठूला हस्ती हुन् । जारी प्रतियोगितामा फुटबल प्रेमीहरुले फ्रान्स र स्पेनलाई उपाधि दाबेदार टोलीको रुपमा लिएका छन् ।

फ्रान्सलाई केलियन एम्बाप्पेले नेतृत्व गर्दैछन् । भरपर्दो युवा विङेगरका रुपमा रहेका स्पेनका लमिन यमलले पनि सबैको ध्यानाकर्षण गर्न सफल भएका छन् ।

तर, फ्रान्सले आफ्नो लय गुमाएको देखिन्छ । धेरैले अन्तिम-४ मा गोल नै नगरी सेमिफाइनल पुगेको भन्दै आलोचनासमेत गरेका छन् ।

यता, स्पेन भने सबै खेलमा शतप्रतिशत जित हासिल गर्दै सेमिफाइनल पुग्यो । जारी प्रतियोगितामा स्पेनले कुल १० गोल गरेको छ । स्पेनलाई उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ । स्पेनविरुद्ध एमबाप्पे र एन्टोनी ग्रिजम्यानको भूमिकाले फ्रान्सको प्रदर्शन निर्भर हुने अनुमान गरिएको छ ।

यद्यपि, विगत ५ खेलमा अपराजित रहेको स्पेन तुलनात्मक रुपमा फ्रान्समाथि हाबी हुने देखिन्छ । तर, सेमिफाइनलमा स्पेनका केहि महत्वपूर्ण खेलाडीहरुको अनुपस्थितले फ्रान्सलाई फाइदा हुने देखिन्छ ।

क्वाटरफाइनलमा मिडफिल्डर पेड्री घुँडामा चोट लागेर घाइते भए भने डिफेन्डर रोबिन ले नर्मन्ड र ड्यानी कार्भाजल निलम्बनमा परेका छन् ।

फिफा वरियतालाई हेर्ने हो भने स्पेन ८औं स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ । फ्रान्स र स्पेनबीचको पछिल्लो ३६ खेलको हेड टु हेड प्रदर्शन हेर्ने हो भने स्पेनले १६ खेल जित्दा फ्रान्सले १३ खेल जितेको छ । अन्य ७ खेल भने बराबरीमा सकिएको थियो ।

स्पेनले आफ्नो पछिल्लो पाँच खेलमा अपराजित हुँदा फ्रान्स २ खेलमा विजयी हुँदा ३ खेलमा भने बराबरी खेलेको थियो । आँकडाको आधारमा दुई टोलीमध्ये स्पेन फ्रान्सभन्दा बलियो देखिएको छ ।

तर, फाइनल पुग्ने दौडमा कसले बाजी मार्नेछ भनेर थाहा पाउन म्युनिख फुटबल एरिनामा हुने सेमिफाइनल खेल कुर्न पर्ने हुन्छ । मंगलबार फ्रान्स र स्पेन नेपाली समयअनुसार राति राति पौने १ बजे आमने सामने हुनेछन् ।

यस खेलको विजेताले जुलाईं १४ मा हुने फाइनलमा इंग्ल्याण्ड वा नेदरल्याण्ड्समध्ये कुनै एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*