५ अर्ब लगानी थप्दै श्री एयरलाइन्स ६ जहाज ल्याउने तयारी
हवाई क्षेत्रमा तीब्र प्रतिष्प्रधा चलिरहेको बेला निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जहाज थपेर आन्तरिक उडान बिस्तारका साथै अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले पाँच अर्ब रुपैयाँ लगानी थप्न लागेको छ।
प्रबन्ध निर्देशक सुधीर मित्तलका अनुसार चालु वर्षभित्रै आन्तरिकतर्फ बम्बार्डियरका तीन टर्बोप्रोप ‘क्यू(४००’ जहाज र आउँदो डेढ वर्षभित्र न्यारोबडी सिरिजका तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजनामा काम भइरहेको छ ।
उनका अनुसार कम्पनीले एक महिनाभित्र एउटा टर्बोप्रोप जहाज ल्याउँदैछ। थप दुईवटा टर्बोप्रोप चालु आर्थिक वर्षभित्र ल्याउने तयारी छ। अबको डेढ वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको योजना छ।
अन्तर्राष्ट्रिय उडानको योजनामा उनले भने ‘हामीले नेपालीलाई नेपाली एयरलाइन्सबाटै सेवा लिन सहज होस् भनेर दुबई, दोहा, मलेसिया लगायत श्रम गन्तव्यका साथै दिल्ली र बैंककमा उडान गर्ने योजना बनाएका छौं‚’ उनले भने‚ ‘हामीले अन्तर्राष्ट्रियतर्फ तीनवटा न्यारोबडी जहाजमार्फत सेवा दिनेछौं। प्रतिस्पर्धामार्फत यात्रुलाई फाइदा हुने हिसाबले यी अन्तर्राष्ट्रिय उडान गन्तव्य छनोट गरेका हौं।’
अन्तर्राष्ट्रिय उडानका लागि कम्पनीले सुरुमा विदेशबाट चेक पाइलट ल्याएर भएका जनशक्तिको क्षमता अभिवृद्धि गराउँदै छ।
कम्पनीले फिक्सविङ उडान सेवा अनुमति पाएको ६ वर्षपछि अन्तर्राष्ट्रियतर्फ नियमित उडान सुरु गर्ने योजना बनाएको हो। हाल कम्पनीले आन्तरिकतर्फ बम्बार्डियर कम्पनीको २र२ वटा सीआरजे(२०० र सीआरजे(४००, ४ वटा टर्बोप्रोप क्यु(४०० गरी कुल आठ जहाजमार्फत विभिन्न सुगम गन्तव्यमा नियमित उडान गरिरहेको छ।