सबै विकल्प र संयन्त्र अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने : राष्ट्रिय परीक्षा बोर्ड

कोल्हवी न्यूज
२०८२ बैशाख ९, मंगलवार १६:२३

राष्ट्रिय परीक्षा बोर्डले सबै विकल्प र संयन्त्र अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको छ । शिक्षकहरूलाई अनुरोध गर्ने तर उनीहरूबाट परीक्षामा सहयोग नभएको खण्डमा विकल्पमा जाने बोर्डको भनाइ छ ।

पर्सि ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभएको खण्डमा अरू आवश्यक सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालय गर्ने बोर्डले निर्णय गरिसकेको छ । गृह मन्त्रालयमार्फत सुरक्षा तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पालिकालाई अनुरोध गर्ने, जिल्लाको परीक्षा समन्वय समिति, शिक्षा इकाइ तथा प्रदेशमा रहेको बोर्डको कार्यालय सबैसँग समन्वय गरी केन्द्राध्यक्ष खटाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।

नेपाल शिक्षक महासङ्घले भने परीक्षा बहिष्कार गर्ने अडानलाई यथावत् राखेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका छन् । दबाव थेग्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजो राजीनामा दिनुभएको छ ।

यस पटक कक्षा १२ को परीक्षामा झन्डै ५ लाख ११ हजार जना परीक्षार्थी छन् । परीक्षाका लागि १ हजार ५ सय ९० वटा केन्द्र तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*