हाँसेकै निहुँमा पत्नीको हत्या !
अमेरिकाको अलास्कामा हाँसेको विषयलाई लिएर क्रुज शिपमा श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन् । केनेथ मन्जानदारेस नाम गरेका ती पुरुषले ३९ वर्षकी आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमतीको शव जहाजको क्याबिनमा पाइएको थियो भने शवको टाउकोमा गहिरो चोट फेला परेको थियो । अदालतमा पेस गरिएको कागजपत्रका अनुसार केनेथलाई उनले लगाएको कपडामा रगत देखेपछि प्रहरीले पक्रेको बताइएको छ ।
अमेरिकी मिडियाहरुले पीडित श्रीमतीको पहिचान युटाको क्रिस्टी मन्जानारेस भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार क्याबिनमा जाँदै गर्दै केनेथले पत्नीको शरीर घिसारिरहेको पाएका थिए । उनले पत्नीको शरीर समुद्रमा फ्याँक्ने नियतले त्यसतर्फ लगेकोमा प्रत्यक्षदर्शीले शवलाई तानेका थिए । पछि केनेथलाई हिरासतमा लिइएको थियो ।
घटनाको बारेमा केनेथलाई सोध्दा उनले आफ्नी श्रीमती मसँग हाँस्न बन्द नगरिरहेको बताए । उनले एफबीआई एजेन्टसँग आफ्नो जिन्दगी सकिएको बताए । घटना गत मंगलबार राति एमेराल्ड प्रिन्सेज क्रुज शिपमा भएको हो ।
यो जहाज करिब ३४ सय यात्री लिएर सीटलबाट साता लामो यात्रामा आइतबार निस्किएको थियो । क्रिस्टीको बोसका अनुसार उनी समर्पित र प्यारी रहेको तथा आफ्नो बच्चालाई प्राथमिकता दिँदै काम छाडेकी थिइन् । यसबारे एफबीआईले थप जाँच गरिरहेको छ ।