बारा प्रहरीले ६४ लाख ५८ हजार बराबरको अवैध सामान नियन्त्रणमा लियो
बारा प्रहरीले ६४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले यो अवैध सामान नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थित वीरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकेर जाँच गर्दा सपोर्टिङ बिल नभएको र सामानको स्रोत खुलाउन नसकेको पाइएको थियो।
स्रोत नखुलेको र बिल नभएको सामानमा इलेक्ट्रोनिक गुड्स, लिपस्टिक र वायारिङको सामानहरू थिए, जसको अन्दाजी मूल्य ६४ लाख ५८ हजार २ सय ७४ रूपैयाँ रहेको बताइएको छ। ट्रकसहित सामानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यात्राडेलीबाट ।