भयावह बन्दै बालबालिकाको आत्महत्या : पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान

कोल्हवी न्यूज
२०८० पुष २१, शनिबार ०७:३१

पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन्। यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ। यो वर्षको ९ महिनामा २६६ बालक तथा ५२९ बालिकाले मृत्युको बाटो अँगालेको देखिन्छ।

२०७५-७६ मा १८९ बालक र २७० बालिकाले आत्महत्याको बाटो समातेका छन्। ०७६/७७ मा २५२  बालक र ४०९ बालिका, ०७७/७८ मा २९४ बालक र ४७० बालिका छन्।  यस्तै, ०७८/७९ को तथ्यांकमा २५३ बालक र ४५६  बालिकाले आत्महत्या गरेका छन्।

हरेक वर्ष यसरी बालबालिकाहरूले मृत्यु अँगाल्नु गम्भीर विषय हो। अभिभावकले आफ्नो कुरा नबुझिदिए वा वास्ता नगरे, गालीगलौज गरे‚ पारिवारिक झै झगडा भइरहेका कारण बालबालिकाले आत्महत्याको बाटो रोजेको देखिन्छ।

बालबालिकाहरूलाई हुर्काउनु बुबाआमाको कर्तव्य मानिन्छ। तर, उनीहरूको हुर्काइ र बढाइमा बाबुआमाहरूको मात्र हात हुँदैन। एक बच्चा युवास्थामा पुग्ने क्रममा धेरै व्यक्तिहरूको हात हुन्छ।

भोलि हाम्रा बालबालिकाको कस्ता हुन्छन्? असल वा खराब? सही मार्ग सम्हाल्छ वा गलत भन्ने कुरा बुबाआमा, परिवार, विद्यालय तथा समाजको सामूहिक प्रयत्नको प्रतिफल हो। कुनै एक व्यक्तिको प्रयत्नले मात्र एक बच्चाको सम्पूर्ण हुर्काइ वा बढाइमा पूर्णता आउन नसक्ने विज्ञ बताउँछन्।

इन्टरनेटमा भिडियो गेमको लत अहिलेको बालबालिकाको समस्या हो। ‘गेमिङ डिसअर्डर’समेत बालबालिकामा देखिन थालेको छ।  अनलाइन गेमकै कारण खानपान, निद्रा र सामान्य व्यवहारमा समस्या आउन थालेका छन्। ​

बालरोग विशेषज्ञ डा.अरूण न्यौपाने अभिभावकले बालबालिकामाथि राख्ने बढ्दो अपेक्षा रोक्नुपर्ने बताउँछन्। अपेक्षा पूरा गर्न नसक्दा आउने मानसिक आघातले बालबालिकामा आउने हिनताबोधबारे बुबाआमाहरू जानकार हुनुपर्ने उनको भनाइ छ।  डा. महेश गौतम पनि बच्चाहरूमा पनि प्रतिस्पर्धाको मानसिकता बढ्दै गएको र अब्बल हुने कि खुशी हुने भन्ने विषयमा बच्चाहरूलाई सिकाउनुपर्ने बताउँछन्।

‘प्रविधिको विकासले बालबालिकामा यस्तो मानसिकता बनाइसक्यो कि भनेको चिज भनेको बेला पाउनैपर्छ। यस्तो अवस्थामा चाहेको चिज नपाउँदा निराशामा गइहाल्ने परिस्थिति बनेको छ’, उनले भने, ‘यो गम्भीर समस्या देखिएको छ।’

विशेषज्ञ डा. न्यौपाने पारिवारिक कलह, हिरोइज्मको विकास, नैतिक शिक्षाको अभाव जस्ता कुराले बालबालिकामा हुर्काइका तरिका फेरिएको बताउँछन्।

’१३ वर्षदेखि १८ वर्षसम्मका हरेक बच्चाहरूको यति धेरै अधैर्य बन्छन् कि उनीहरू कुनै काममा आफ्नो असफलतालाई आफू कमजोर महशुस गर्छन्। जब कमजोर महशुस हुन्छ, त्यसवेला उनीहरू नजिकका मान्छेको साथ  खोज्छन्। साथ  र भरोसा नपाउँदा उनीहरू जुनसुकै कदम चालिदिन्छन्’, उनले भने।

आफूले आफैँलाई सिध्याउने काम आत्महत्या हो। यस क्रममा कोही मर्छन्। केही घाइते हुन्छन्। आत्महत्या गर्नुको प्रमुख कारण मनमा अत्यधिक पीडा हो।  आत्महत्याका कारण फरक–फरक भए पनि अन्तत: मानसिक तनाव र अधैर्य नै हो।

आत्महत्याका सबै कारण निराशा मात्र पनि नभएको उनीहरूले बताए। कतिपय बच्चाहरूले घुर्की लगाउने नाममा छतबाट हाम फाल्ने, सिलिङमा पासो लगाउने तथा विष सेवन पनि गरिदिने घटना पनि घट्ने गरेको बताउँछन्।

मनोविश्लेषक वासु आचार्य बालबालिकाको आत्महत्या रोक्ने प्रकारका पाठ्यपुस्तक निर्माण गर्नुपर्ने बताउँछन्। ‘नैतिक शिक्षाले मात्र पुगेन। मनोविज्ञान शिक्षा चाहियो। सन् २०३० सम्म यहाँ तीन जनामा एक मनोपीडित देखा पर्छन्। त्यसैले विशेषगरी कक्षा ९ र १० मा मनोविज्ञान शिक्षाको कोर्स राख्नुपर्छ। योभन्दा साना कक्षामा पनि राख्नुपर्छ। त्यस्तै, सरकारले बालबालिकाका लागि सचेतनामूलक कार्यक्रम चलाउनुपर्छ। यसो गरे बालबालिकाको आत्महत्याको घटनामा कमी आउँछ’, उनले भने।

विज्ञले ‌औँल्याएका आत्महत्याका कारण

अब्बल बन्नुपर्ने दबाब

हरेक बालबालिकाहरूलाई अब्बल बन्नुपर्ने धारणाका कारण बालबालिकामाथि अनावश्यक दबाब बढिरहेको छ। हरेक बच्चा हरेक कुरामा अब्बल हुन सक्दैन। यो कुरालाई मध्यनजर गर्दै बच्चालाई आफ्नो रुचिको विषयमा उत्प्रेरणा जगाउन जरुरी छ।

धैर्य गुमाउनु

गत साउनमा पाल्पाको  रम्भा गाउँपालिकाकी–५ की १२ वर्षीया आयुषा थापाले आत्महत्या गरिन्। आफूले भनेकै थालमा भात खान नदिएको भन्दै रिसाएकी उनले आत्महत्या गरिन्।​ अहिलेको बालबालिकामा धैर्य गर्ने बानीको विकासलाई प्राथमिकता दिनु पर्छ। सामान्य कुरामा पनि धैर्य गुमाउँदा उनीहरूले मृत्युको बाटो अँगाल्ने गरेका छन्।

नैतिक शिक्षाको अभाव

सोसल मिडियाको कारण बालबालिका एक्लिन थालेका छन्। उनीहरूलाई सामूहिकता र आत्मीयताको परिभाषा नै  थाहा नहुने अवस्था छ। अर्को कुरा उनीहरू सामाजिक मूल्यमान्यताका बारेमा अनभिज्ञ छन्। यसका साथै हाम्रो नैतिक शिक्षाको अभाव छ। बालबालिकालाई नैतिक शिक्षा आजको मुख्य आवश्यकता हो।

बढ्दो अपेक्षा

सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रविधिको विश्वव्यापीकरणले परिवारले बच्चामाथि र बच्चाले परिवारमाथि अनपेक्षित अपेक्षा राख्न थालेका छन्। बालबालिकामाथि अनपेक्षित अपेक्षा उनीहरूका लागि निराशाको मार्ग हो।

अस्वस्थ प्रतिस्पर्धी समाज

समाज पनि अस्वस्थ्य प्रतिस्पर्धामा अगाडि बढिरहेको छ। बालबालिकालाई एकअर्काप्रति तुलना गर्नु, यही कारण बनाएर उनीहरूको अपमान गर्नु जस्ता कुराले पनि उनीहरूको मनोविज्ञानमा गम्भीर असर परिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*