जनप्रतिनिधिकै मिलेमतोमा जीतपुरसिमरामा सरकारी जग्गाबाट माटो चोरेर उद्योगमा बिक्री
बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाको माटो चोरी गर्दै बिक्री गरेको घटना बाहिर आएको छ ।
उपमहानगरपालिका कार्यालय र प्राविधिक कर्मचारीहरूलाई झुकाउँदै सरकारी जग्गाबाट माटो चोरी गरेर जीतपुरसिमरा – ४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) बिक्री गरेको घटना बाहिर आएको हो ।
नम्बरी जग्गाबाट व्यावसायिक बिक्रीका लागि भन्दै अनुमति लिएको तर सरकारी जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटना बाहिर आएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारबाहीको माग गर्न थालेका छन् । माटो चोरी गरी बिक्री गर्ने काममा वडा नम्बर ११ जनप्रतिनिधि र दलका केही नेता समेत संलग्नता रहेको स्थानीयको आरोप छ ।
स्थानीय मोहम्मदहीन मियाँ चुरिहारले साबिक फत्तेपुर गाविस वडा नम्बर ९ (हाल जीतपुरसिमरा – ११) स्थित कित्ता नम्बर ३५ को पाँच बिगाहा क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि भन्दै अनुमति माग गरेका थिए ।
निजी जग्गाको स्वीकृति चुरिहारसहितका व्यक्तिले कित्ता नम्बर ४२ को १८ बिगाहा ऐलानी जग्गामध्ये दुई बिगाहा जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ । चुरिहारको माग बमोजिम वडा नम्बर ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यपालिकाको कार्यालयलाई सिफारिस गरेको थियो ।
वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । सोही सिफारिस पत्रका आधारमा उपमहानगरपालिकाको कार्यालयले प्राविधिक मूल्याङ्कन समेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो । स्वीकृति प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट खटिएका प्राविधिक टोलीलाई समेत झुक्क्याएको पाइएको छ । वडाको सिफारिस पत्र अनुसार जग्गाको अवस्था बुझ्न उपमहानगरपालिकाबाट प्राविधिकको टोली खटिएको थियो ।
वडाको सिफारिसका आधारमा जग्गाको अवस्था बुझ्न गएको प्राविधिकको टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नम्बर ३५ भन्दै हाल उत्खनन गरिएको जग्गा अर्थात् कित्ता नम्बर ४२ देखाएका थिए ।
वडा सदस्यसहितका जनप्रतिनिधिले देखाएको जग्गालाई अनुमति प्रदान गर्न सकिने भन्दै प्राविधिकको सिफारिसपछि उपमहानगरपालिकाले वडामा निवेदन दिएका चुरिहारका बुवा हसिना चुरिहारलाई सम्बोधन गर्दै असोज ५ गते स्वीकृति दिएको थियो । उपमहानगरपालिकाले ७० हजार राजश्व लिँदै प्रदान गरेको स्वीकृति पत्रमा मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्स्काभेटर र ३६०४६.०८ घन फिट अर्थात् एक सय टिपर माटो उत्खनन गर्नका लागि स्वीकृति प्रदान थियो ।
यद्यपि चुरिहारले अनुमति पाएको भन्दा फरक अर्थात् कित्ता नम्बर ४२ को १८ बिगाहा ऐलानी जग्गामध्ये दुई बिगाहा जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो उत्खनन गरी बिक्री गरेको आरोप छ । नम्बरी जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि अनुमति लिएर सरकारी जग्गाबाट एक हजार टिपर भन्दा बढी माटो उत्खनन गरी बिक्री भइसक्दा समेत वडाका जनप्रतिनिधिले भने अनभिज्ञता प्रकट गरिरहेका छन् ।
उक्त परिमाण उपमहानगरपालिकाले प्रदान गरेको भन्दा १०औँ गुणा बढी हो । नम्बरी जग्गालाई प्रदान गरेको स्वीकृतिको दुरुपयोग गर्दै सरकारी जग्गाबाट माटो उठाएको घटना बाहिर आएपछि उपमहानगरपालिकाको प्राविधिक टोलीले अनुगमन समेत गरेको छ ।
अनुगमनका क्रममा स्वीकृति लिएको भन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन भएको पाइएको इन्जिनियर सञ्जीव रुपाखेतीले बताए । रुपाखेतीका अनुसार स्वीकृति लिइएको भन्दा करिब एक सय ५० मिटर पूर्वतर्फको सरकारी जग्गाबाट माटो उत्खनन भएको छ ।
सो क्रममा माटो उत्खनन गरिरहेको एउटा एक्स्काभेटरलाई समेत उपमहानगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो । सरकारी जग्गाबाट अनियन्त्रित उत्खनन भएको पाइएपछि उपमहानगरपालिकाको कार्यालयले माटो खरिद गर्ने उद्योगसँग विवरण माग गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयाँलले पशुपति सेरामिक्स उद्योगलाई पत्राचार गर्दै विवरण माग गरेका हुन् ।