गाउँ पस्यो नेटवर्किङ ठगी
सदरमुकाम चैनपुरको दक्षिणी कुनामा रहेको एक घरमा केही महिनायता निकै चहलपहल छ । पिपलचौतारासँगै जोडिएको उक्त घरमा बिहानदेखि साँझसम्म हूलका हूल मान्छे ओहोरदोहोर गरिरहेका भेटिन्छन् । कोही टाइसुटमा सजिएका छन् । कोही भर्खरै गाउँबाट आएका जस्ता देखिन्छन् ।
आरएनसी ट्रेडिङ प्रालिको बोर्ड टाँगिएको यस घरमा आउजाउ गर्नेहरूको भीड प्रत्येक दिन बढ्दो छ । भीडमा किशोरकिशोरीदेखि प्रौढावस्थाका महिला–पुरुष छन् ।
आइतबार दिउँसो बोर्ड पछ्याउँदै भित्र पस्दा त्यहाँ पनि उस्तै चहलपहल भेटियो । कोही एकपन्ने फाराम भर्दै नगद रकम बुझाइरहेका थिए भने कोही समूहमा बसेर कक्षा लिइरहेका थिए । प्रशिक्षक खगेन्द्र चन्दले उनीहरूलाई एक सातामै ३०र४० हजारदेखि लाखौं रकम कमाउन सकिने उपाय भनिरहेका थिए । ‘तपाईंहरू सुरुमा आईडी लिनुहोस्, यो पैसा थाप्ने भाँडो हो । कति पैसा कमाउन चाहनुहुन्छ, त्यहीअनुसारको आईडी लिनुहोस् । यहाँ १० हजारदेखि डेढ लाखसम्मको आईडी छ,’ उनी भन्दै थिए, ‘१० हजारको लिनु भयो भने हप्तामा २४ हजारसम्म मात्रै तपाईंको खातामा आउँछ । त्योभन्दा बढी कमाउनुभयो भने चेक बाउन्स हुन्छ । त्यो पैसा गरिब असहायका लागि खर्च हुन्छ । सबै पैसा आफ्नै खातामा आओस् भन्ने चाहनुहुन्छ भने तपाईंले आईडी अपडेट गर्नुपर्छ । १५ हजार वा त्योभन्दा बढीको आईडी किन्नुपर्छ ।’ एक लिटरको भाँडामा दुई लिटर तेल नअटाउने उदाहरण दिँदै उनले जति बढी पैसा कमाउन चाहनुहुन्छ त्यति नै बढी रकमको आईडी लिनुपर्ने बताए ।
नेपालबाट बेरोजगारी अन्त्य गरेर सबैलाई धनी बनाउन आरएनसी प्रालि स्थापना भएको बताउँदै चन्दले कम्पनीमा आबद्ध भए छोटो समयमा प्रशस्त बैंक ब्यालेन्स, आफ्नै गाडी भएको विलासी जीवन बिताउन सकिने सपना देखाउँदै थिए । ‘त्यसका लागि आईडी लिएर मात्रै हुँदैन, तालिम पनि लिनुपर्छ । होस्टेल खर्च थप १२ हजार बुझाउनुपर्छ,’ उनले भने, ‘तालिम लिइसकेपछि तपाईंले आफ्नो दायाँबायाँ दुई जना सदस्य थप्नुपर्छ । तपाईंले एक सदस्य थप्नुभयो भने सोह्र सय खातामा आउँछ । जति बढी बनाउन सक्नुभयो त्यति नै बढी पैसा आउँछ ।’ सदस्य थपिँदै जाँदा तह र आम्दानी पनि आकर्षक तरिकाले बढ्दै जाने उनले बताए । यसरी रकम बुझाए पनि एक जना इच्छाइएको व्यक्ति राख्न सकिने र रकम बुझाउने व्यक्तिको ज्यानमा तलमाथि भए इच्छाइएको व्यक्ति र उनका सन्तानका नाममा मासिक तलब आउने जानकारी पनि चन्दले दिए । ‘तपाईंहरूको सात पुस्तासम्म घरमै बसीबसी रकम आउँछ । सधैं गरिब नै रहने कि आफ्नो जीवनमा छोटो समयमै परिवर्तन ल्याउने, निर्णय तपाईंको रु’ उनले थपे । रकम बुझाइसकेपछि साबुन, तेललगायत केही दैनिक उपभोग्य सामान पनि प्राप्त हुने उनले बताए ।
चन्दका कुरा ध्यानपूर्वक सुनिसकेपछि सहभागीहरू पुलकित भए । कसैले त्यहीं फाराम भरेर रकम बुझाए भने कसैले रकम नल्याएको भन्दै फाराम भरेर भोलि बुझाउने बताए । यही समूहमा रहेका तलकोट गाउँपालिका–६ दातोलाका शर्मिला र संगीता बिष्ट निकै हौसिँदै बाहिर निस्किए ।
छोटो समयमै धनी बन्ने ठाउँ भेटिएकामा मख्ख देखिएका उनीहरू घरबाट रकम ल्याएर सोमबार बुझाउने वाचा गर्दै फर्किएका थिए । ‘१२ कक्षा पास गरेर जेटिए पढ्दै छु । पढ्दै कमाउँदै गर्न मिल्ने योभन्दा राम्रो उपाय अरू के होला १’ आपसमा गफिँदै शर्मिलाले भनिन्, ‘२२ हजार तिरेर महिनामा लाख कमाउने अवसर कसले छाड्छ १’
छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहन गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत अर्को नयाँ व्यक्तिलाई ग्राहक बनाउन हौस्याउने र आफ्नो सञ्जालअन्तर्गत बिक्री गरेबापत कमिसन दिने भन्दै पिरामिड संरचनाको कार्यक्रममार्फत ठगी गरिरहेको यस कम्पनीमा जिल्लाका दुई सयभन्दा बढी मानिस आबद्ध भइसकेको आफूलाई बझाङ शाखा प्रमुख बताउने प्रकाश चन्दले बताए । सदरमुकाम चैनपुर र भोपुर बजारमा दुईवटा होस्टेल सञ्चालन गरेर तालिम दिने गरेको पनि जानकारी दिए । ‘हाल ९५ जनाभन्दा बढीले होस्टलमा बसेर तालिम लिइरहेका छन्,’ उनले भने ।
सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशका सुर्खेत, दैलेखलगायत जिल्लामा शाखा विस्तार गरी ३५ सयभन्दा बढीलाई यो व्यापारमा आबद्ध गरिसकेको चन्दले जानकारी दिए । उनले ७७ वटै जिल्लामा शाखा विस्तारका क्रममा रहेको र प्रत्येक जिल्लामा कुनै न कुनै उद्योग खोलिने दाबी गरे । कैलालीको बौनियामा तेल उद्योग स्थापना भइसकेको पनि बताए । ‘हामीले उद्योगधन्दा खोलेर बेरोजगारी हटाउने, आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित यो कम्पनी सुरु गरेका हौं । हाम्रो लक्ष्य भनेको देशलाई आफ्नै उत्पादनमा निर्भर बनाउने र वैदेशिक क्रणको भार कम गर्ने हो,’ उनले भने, ‘अब ७७ वटै जिल्लाका युवालाई विकृति, कुरीति, लागूऔषध दुर्व्यसन तथा अपराधविरुद्ध सचेत गराउने अभियान पनि चलाउँदै छौं ।’ आफूहरूले सामानको प्रत्यक्ष बिक्री गर्ने भएकाले व्यापारिक च्यानलमा हुने कमिसनको खेलका कारण उपभोक्ताले महँगो मूल्य तिरेर सामान किन्नुपर्ने अवस्था अन्त्य गरिने उनले बताए ।
१२ हजारले दुई वर्ष खानेबस्ने सुविधा १
सदस्यबाट १२ हजार रुपैयाँ उठाएपछि दुई वर्ष वा त्योभन्दा बढी समयसम्म होस्टेलमा राखेर खानेबस्ने सुविधा दिइने आकर्षक प्रलोभन पनि कम्पनीले दिने गरेको छ । ‘तालिम लिएर अरू मान्छेलाई कन्भिन्स गर्न सक्ने नहुन्जेल हामी त्यही रकममा होस्टेलमा राख्छौं,’ आफूलाई कम्पनीको असिस्टेन्ट एम्बेस्डर बताउने खगेन्द्र चन्दले भने, ‘कसैले छिटो सिक्छ । कसैलाई समय लाग्न सक्छ, दुई वर्षसम्म त्योभन्दा बढी रकम तिर्नु पर्दैन ।’ कुनै व्यक्तिलाई १२ हजार खर्चमा दुई वर्षसम्म खानबस्न कसरी सम्भव हुन्छ भन्ने जिज्ञासामा उनले ‘यसको व्यवस्था माथिबाट सरहरूले नै गर्ने’ भएकाले आफूलाई थाहा नभएको बताए ।
नियमनकारी निकाय मौन
वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४ ले पिरामिडमा आधारित व्यापारमा प्रतिबन्ध लगाएको छ । ऐनको दफा ११ मा वस्तु खरिद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको सञ्जालयुक्त कार्य, एक वस्तु खरिद गर्दा अन्य वस्तुसमेत एकमुष्ट प्याकेजमा खरिद गर्नुपर्ने कार्य, आफू मातहत बिक्रेता बनाई कमिसन लिने तथा व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने कार्य गर्नु दण्डनीय हुने उल्लेख गरेको छ ।
बझाङको सदरमुकाममै यसरी खुलेयाम ठगी भइरहँदा पनि कुनै नियमनकारी निकायको ध्यान जान सकेको छैन । शाखा प्रमुख चन्दकै भनाइलाई आधार मान्ने हो भने पनि बझाङमा दुई सय जना सदस्यबाट प्रतिव्यक्ति २२ हजारका दरले ४४ लाख रकम यो कम्पनीले ठगी गरिसकेको छ । तर यो संख्या ५ सयभन्दा बढी रहेको यसै कम्पनीमा आबद्ध एक सदस्यले बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा गरी १७ वटा शाखा रहेको र ३५ सय बढी सदस्य रहेको कम्पनीको दाबी छ । ०७८ साउन २४ मा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको यस कम्पनीले भनेकै संख्यामा सदस्य रहेको भए पनि स्थापनाको डेढ वर्ष नपुग्दै करिब आठ करोड बढी रकम संकलन गरिसकेको अनुमान गर्न सकिन्छ । यो कम्पनी बैतडीको पाटन नगरपालिका–५ का रविन चन्दको नाममा दर्ता छ ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी दशरथ जप्रेलले यस विषयमा गुनासो आएपछि कागजातसहित कार्यालयमा बोलाउँदा कम्पनीले अटेर गरेको बताए । ‘ऐनले प्रतिबन्धित गरेको पिरामिड शैलीको व्यापार गर्ने नाममा ठगी भइरहेको सूचना आएपछि हामीले कम्पनीका प्रतिनिधिलाई कार्यालयमा बोलाएका थियौं,’ उनले भने, ‘उनीहरूलाई पटक–पटक ताकेता गर्दा पनि आउन अटेर गरिरहेका छन् । अब के गर्ने भनेर जिल्ला प्रशासन कार्यालयसँग सल्लाह गर्दै छौं ।’ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे भने यस विषयमा कुनै जानकारी नभएको बताए । ‘हामी तुरुन्तै यसबारे बुझ्छौं । कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन । त्यसो भएको छ भने कारबाही हुन्छ,’ उनले भने ।