जनकपुरधाम व्यापार मेला सुरु

कोल्हवी न्यूज
२०७९ फाल्गुन ६, शनिबार ०७:०७

जनकपुरधाममा शुक्रबारदेखि व्यापार मेला सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको यस व्यापार मेलाको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् ।

२०७२ सालमा गएको विनाशकारी महाभूकम्प, कोरोनापछि नेपालसहित विश्वमा देखापरेको आर्थिक मन्दीका कारणले धरासायी बनेको देशको अर्थतन्त्रलाई गति दिनका लागि जनकपुरधामको तिरहुतिया गाछीमा आगामी १४ फागुनसम्म चल्ने व्यापार मेलामा १ सय ५० वटा स्टल रहेका छन् ।

व्यापार मेलाको कुल १० लाख दर्शकले अवलोकन गर्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघको रहेको छ । अन्तर्राष्ट्रिय व्यापार मेलामा स्थानीय उत्पादनका साथै नेपाल, भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित विभिन्न प्रकारका सामग्रीको प्रदर्शनी रहेको छ । मेलामा इलेक्ट्रिक अटोमोबाइल्स, इलेक्ट्रिक साइकल, कार, जीप, मोटरसाइकल, स्कुटर, विभिन्न प्रकारका लुगाफाटा, खाद्यान्नका सामग्री, फर्निचर, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्स सामान, घर निर्माणमा प्रयोग हुने विभिन्न सामानका स्टल रहेका छन् ।

यसका साथै मेलामा मिथिला चित्रकला पनि आकर्षणका रूपमा रहेको छ । मेलालाई थप आकर्षित बनाउनका लागि विभिन्न प्रकारका मैथिलीसहितका अन्य भाषाका सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । मेलाको उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यस्ता प्रकारका अन्तर्राष्ट्रिय मेलाले आर्थिक क्षेत्रलाई गति दिन तथा उद्योग व्यवसायको विकासमा ठूलो मद्दत पुग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*